१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चितवनमा शिक्षक अस्पताल बनाउने सरकारको निर्णय

१७ माघ, काठमाडाैँ । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

सरकारले शिक्षक अस्पताल भरतपुरमा बनाउने भएको छ । मेडिकल सिटीका रूपमा परिचित चितवनको भरतपुरमा थप एउटा केन्द्रीय स्तरको अस्पताल बन्ने पक्का भएको हो ।

शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव मन्त्रीपरिषद्बाट पारित भएको छ । प्रस्ताव पारित भएसँगै मेडिकल सिटी भरतपुरमा नयाँ आयाम थपिएको भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुरमा बनाउन भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको थियो । सोही अनुसार शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए ।

शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले भरतपुर–१५ भगवानपुरमा आठ बिघा १६ कठ्ठा जग्गा दिने भएको छ । भरतपुर देशकै मध्यभागमा पर्ने भएकाले देशभरका शिक्षकहरूलाई उपचारका लागि भरतपुर उपयुक्त स्थान हुने अपेक्षा गरिएको छ । मन्त्रालयले सुरुमा तीन सय शय्याको अस्पताल बनाएर विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

भरतपुर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रसमेत हो । शिक्षक अस्पताल भरतपुरमा बनाउनका लागि प्रचण्ड पनि सकारात्मक थिए ।

शिक्षक अस्पताल निर्माण गर्नका लागि शिक्षा मन्त्रालयले डा विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन तथा जग्गा पहिचान समिति बनाएको थियो । समितिले नवलपरासी, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका स्थानमा जग्गा हेरेको थियो ।

चितवनमा दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र थुप्रै प्रदेश स्तरका निजी अस्पताल छन् । भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको लागि पनि भरतपुर महानगरले पहल कदमी लिएको थियो । रंगशाला निर्माणका लागि महानगरले २० बिघा जग्गा धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराए पनि निर्माण सम्पन्न हुन सकेन ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार २२:४५