कांग्रेसले गठबन्धन नतोड्ने वाचा गरेपछि प्रचण्ड र माधव पनि स्थानीय निर्वाचन गराउन तयार
१५ माघ, काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धन नतोड्ने वाचा गरेसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि स्थानीय निर्वाचन गराउन सहमत भएका छन । विगत ४८ घण्टामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बीचमा भएको पटक पटकको छलफल र भेटवार्तामा चुनावसम्म गठबन्धन निरन्तर अघि बढाउन देउवा तयार भएका थिए ।
देउवाले पार्टीका केही साथीको दाबब रहेको भन्दै गठबन्धनको कुरा पछिमात्र तय हुने र विगतको सहमति अनुसार राष्ट्रियसभा चुनावसम्म आफूले गरेको भन्दै स्थानीय चुनावमा सहयोगको आश नगर्न भनेपछि प्रचण्ड र नेपालले स्थानीय चुनाव छ महिना सार्नुपर्ने भन्दै संविधान र कानुनकै अपव्याख्या गरिरहेका थिए ।

उनीहरूले आफू निकटका कानुन व्यवसायी समेत संविधान र कानुनको अपव्याख्यामा उतारेका थिए। तर कांग्रेसले चुनावमा पनि गठबन्धन जारी राख्ने प्रतिवद्धता जनाएसँगै उनीहरूले वैशाखमै गर्नुपर्ने चुनाव जेठ मसान्तसम्म गर्न सरकारलाइ सुझाव दिने निर्णय गरेका छन ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाइ जेठ मासन्तमा चुनाव घोषणा गर्न सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन । उनका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए ।
प्रकाशित मिति : January 29, 2022 at 7:12 pm









