३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

जनता माझ जान डराएकाे वर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ : शंकर पोखरेल

-रुद्र सुवेदी

१४ माघ, नेपालगञ्ज । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् । उनले आवधिक निर्वाचन गर्दा प्रतिगमन हुने सोच पालेर बसेको वर्तमान सत्ता गठबन्धनले मुलुकमा अस्थिरता मात्रै निम्त्याएको दाबी गर्दै निर्वाचन टारेर अघि बढ्न खोजेको ठोकुवा गरे ।

बाँकेको खजुरा गाउँपालिकाले तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत करिब एक करोड रुपियाँको लागतमा घरवास र जग्गाविहीन विपन्न परिवारका लागि निर्माण गरेको सामूहिक आवास शुक्रबार उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दाबी गर्दै भने, ‘वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर पार्ने षडयन्त्र गर्दै निर्वाचन टार्ने प्रयत्न गरी रहेको छ । वर्तमान पाँचदलीय गठबन्धन जनता माझ जान डराइ रहेको कारणले निर्वाचन धकेलिन खोजिएको हो ।’

उनले सत्ता भागबन्डा र अस्थिरताको कारण मुलुकको सबै क्षेत्र लथालिङ्गको अवस्थामा पुराएको आरोप लगाउँदै बैंकहरुमा मौद्रिक तरलता देखिन थालेको, आयात बढेको, महँगी हद भन्दा बढी आकासिएको साथै वैदेशिक मुद्रा सञ्चित हुन नसकेको बताउँदै जता हेर्दा पनि भद्रगोलै भद्रगोल भएको आरोप लगाए ।

उनले भने,‘वर्तमान गठबन्धन देश र जनताको पक्षमा नभई एमालेलाई सत्ताच्युत बनाउन मात्रै निर्माण भएको हो । विगतमा लुम्बिनी प्रदेश सरकार ७ जना मन्त्रीले नमुनाका रूपमा प्रदेश सरकार सञ्चालन गर्दै विकासको गति अघि बढाएका थियौ । तर अहिले मन्त्रीको सङ्ख्या १७ पुगे पनि जनताको काम सन्तोषजनक हुन सकेको छैन ।’

बाँकेको खजुरा गाउँपालिका-३ को बि–बोरिङमा निर्माण गरिएको सामूहिक आवासमा १६ वटा घर निर्माण सम्पन्न भएर वितरणसमेत गरी सकेको छ, भने ५ वटा घर निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आह्वान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न व्यक्ति पहिचान गरी घर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुनेगरी आवास निर्माण गरिएको छ । सो कार्यक्रमको स्वागत गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले गरेकी थिइन् ।

प्रकाशित मिति : January 28, 2022 at 8:28 pm