अध्यादेश ल्याउनका लागि संसद स्थगित गरिएकाे हाेः प्रधानमन्त्री देउवा
१८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउनका लागि संसद स्थगित गरिएकाे बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी)का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसिसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङगो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी दिए ।
देउवाले भने “उहाँले एमसिसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्याएर निष्कर्षमा पुग्छौँ भनेको छु । हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ, संसद् स्थगन भएको यही कारण होइन अन्य कारणले हो, कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो”।
प्रधानमन्त्री देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान सत्तारुढ गठबन्धन पूरै समय चल्ने र यसमा कुनै शङ्का गर्न नहुने स्पष्ट पारेका हुन् । उनले भने, “गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनका सम्बन्धमा कुनै किसिमको शङ्का उपशङ्का आवश्यक छैन ।”
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।
प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्वदेश फर्किएका हुन् ।

भारतसँग राम्रो कुराकानी भयो
पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार विशेषगरी भारतसँग हवाई रुटका सम्बन्धमा विस्तृत कुराकानी भएको छ । भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको छ ।
“गौतमबुद्ध विमानस्थलमा उडान गर्दा भारतको भूमि प्रयोग भएर उडान गर्नुपर्ने भएकाले एयरस्पेसको सम्बन्धमा कुराकानी भएको छ, यो लगायत अन्य विषयमा पनि राम्रो छलफल भएको र नेपालका निम्ति भारतको राम्रो सद्भाव देखिएको छ । भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको छु”, प्रधानमन्त्री देउवाले भने ।
गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थलमा एक महिनाभित्र क्लालिब्रेसन फ्लाइट गरेर त्यसको तीन महिनाभित्रै परीक्षण उडान हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँगको छलफलको क्रममा नेपालप्रति धेरै ठूलो सद्भाव रहेको पाएको र गोरखा फौजको सङ्ख्या बढाउन सकारात्मक रहेको प्रक्रिया दिएको जानकारी दिए । “जुन बेलादेखिको गोरखाहरुको तलब बढेको छ, त्यही बेलादेखिको पेन्सन बढ्नुपर्छ भनेर कुराकानी भएको छ । बेलायतका प्रधानमन्त्रीसँगको छलफलमा पनि गोर्खाजको विषयमा सकारात्मक कुराकानी भएको छ”, उहाँले भन्नुभयो । सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।
उता सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जोडदारका साथ कुरा उठाएको बताए । कार्बन ग्यास घटाउने, अक्सिजन बचाउने र कार्बन उत्सर्जन घटाउनेबारे कुरा उठाएको उहाँले बताए । जलवायु परिवर्तनको जोखिमको बढी असर नेपालमा परेको र बाढी, पहिरोजन्य विपद्का घटना बढेकोप्रति ध्यानकर्षण गराउँदा अन्य मुलुकले चासो लिएको प्रधानमन्त्री देउवाले जानकारी दिए ।
भारतीय प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने भएको छ । कोप सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको र उनि नेपाल आउन उत्सुक रहेको जानकारी दिए ।
उनले भने, “मैले भारतीय प्रधानमन्त्रीलाई तपाईँ नेपाल आउनुस् हामी स्वागत गर्छौँ भनेँ । नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरेँ, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु र उनले आफू नेपाल आउन तयार रहेको बताए, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ ।”
प्रधानमन्त्री देउवाको स्वागतका लागि विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण, रक्षामन्त्री डा मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि विमानस्थल पुगेका थिए ।
प्रकाशित मिति : November 4, 2021 at 11:56 am










