विन्टर हाफ म्याराथन २७ कात्तिकमा हुने
११ कात्तिक, काठमाडाैँ । बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन २७ कात्तिकमा हुने भएको छ ।
नेपाल एथलेटिक्स संघको समन्वयमा हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा ३ विधामा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष/महिला खुला, सिन्धुपाल्चोकका स्थानिय तथा भेट्रान ४५ वर्षमाथि उमेरसमूहमा दौड हुने छ ।
पुरुष/महिला दुवैमा समान पुरस्कार राशी राखिएको छ । खुलामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । स्थानियतर्फ पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् । भेट्रानका विजेताले १० हजार, उपविजेताले ८ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन् ।
तीन विभागीय टोलीसहित व्यक्तिगत रुपमा करिब १ सय ५५ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कुल खर्च मध्ये १० लाख परिषद्ले उपलब्ध गराउने र बाँकी अर्को आयोजक समितिले जुटाउने सदस्य–सचिव भण्डारीले बताए । त्यसका लागि दुई आयोजक परिषद्का सदस्य–सचिव भण्डारी, समितिका अध्यक्ष शेर्पा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
पत्रकार सम्मेलनमा सदस्य–सचिव भण्डारीले अर्को संस्करणदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाउने तयारी रहेको पनि बताए । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले प्रतियोगितालाई प्राविधिक रुपमा सहज बनाउन संघसंग सहकार्य गर्दा सहज हुने बताए ।
प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार २२:०३