२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिँदै

१० कात्तिक, मकवानपुर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिने भएकी छिन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि उनले पदबाट राजीनामा दिने तयारी गरेकी हुन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा शाक्यले राजीनामा दिने बताइए पनि सदन अझै सुरु भएको छैन ।

प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उनले राजीनामा दिन लागेकि हुन् । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । उनकाे पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलको सहभागितामा वाग्मती प्रदेश सरकार गठन हुन लागेको हो ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मत विभाजन गरिने कार्यतालिका थियो । प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको भए पनि राजीनामा दिएर नयाँ सरकार गठन गर्नका लागि उनले बाटाे खाेलिदिन लागेकी हुन् ।

मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सार्नु भएको थियो । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् ।

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छन् । विश्वासको मतमा नपुग्ने भएपछि नयाँ सरकार गठनका लागि सहज पार्न पनि राजीनामा दिन लागेकी हुन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

प्रकाशित मिति : October 27, 2021 at 1:46 pm