१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्यूठानमा नेकपा एस शून्य प्रायः केन्द्रीय सल्लाहकार शोभाराम भण्डारीसहितका नेता एमालेमै फर्किए

६ कात्तिक, प्यूठान । अध्यादेशको बलमा नेकपा एमाले विभाजन गरी बनेको नेकपा एकीकृत समाजवादी प्यूठानमा शून्य प्राय भएको छ । बामदेव गौतमको गृह जिल्ला भएकोले पनि प्यूठानलाई महत्वका साथ हेरिएको थियो ।

एमाले छाडेर नेकपा एसमा जाने भनेर हिडेँका गौतमले अहिले बीचमा अलपत्र छन । उनी कुनै पनि पार्टीमा छैनन् । जीवनको उत्तरार्द्धमा बढी महत्वकांक्षाका कारण राजनीतिक जीवन नै अस्तव्यस्त पारिरहेका गौतम लगायतका नेताहरूको पछि तलका कार्यकर्ता भने दौडिन छाडेका छन । गौतम निकटका प्यूठानका सबै जसो नेता कार्यकर्ता हाल एमालेमा सक्रिय भएका छन ।

माधवकुमार नेपाल अध्यक्ष भएको नेकपा एसले केन्द्रीय सल्लाहकार बनाएका प्यूठानका पुराना नेता शोभाराम भण्डारी सहित राजनीतिमा चिनिएका सबैजसो अनुहार एमालेमै फर्किएका छन । भण्डारीसँगै नेकपा एसले बनाएको कमिटीका जिल्ला सचिव दीपेन्द्र केसी तथा जिल्ला सदस्यहरू तिलबहादुर घर्ती र धर्मराज भण्डारी लगायत दर्जनबढी नेकपा एमालेमा सामेल भएका छन ।

उनीहरू शुक्रबार नेकपा एमाले प्यूठानको जिल्ला कार्यालय पुगेर पार्टीको संगठित सदस्यता नवीकरण गर्दै विभाजनको पक्षमा नलाग्ने स्पष्ट पारेका छन । भण्डारी एमालेको प्रदेश कमिटीका सदस्य रहेछन । एमाले हुँदैको समानान्तर कमिटीबाहेक नेकपा एसले छुट्टै संगठन प्यूठानमा निर्माण गर्न सकेको छैन ।

पहिले गठित समानान्तर कमिटीसमेत विभाजनपछि बनेको एसमा रूपान्तरण गर्न असम्भव भएको छ । २०५४ सालमा वामदेव गौतमले पार्टी विभाजन गर्दा चार जनाबाहेक सिंगो जिल्ला कमिटी उनको माले पार्टीमा लागेको थियो तर यसपाली जिल्ला कमिटीका एक सदस्य पनि माधव नेपालको एसतिर लागेनन् ।

एमाले नेताद्धय मणिचन्द्र थापा र सूर्य थापा ।

तत्कालीन माओवादी नेता मणि थापा लगायत समेत एमालेमा क्रियाशिल रहेको पछिल्लो समयमा एमालेको राजनीतिमा प्रभावशाली मनिएका तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले अब प्यूठानको राजनीतिको नेतृत्व गर्ने देखिएको छ ।

जनमोर्चाले विगतमा प्यूठानमा एक खालको छाप छाडेको भए पनि यसपटक पद पैसाका लागि बार्गेनिङ गरेका कुराहरू सबै छरपस्ट भएपछि नेता र कार्यकर्ताको मुल नेतृत्व र पार्टीसँगको मोह भंग भएको छ । जसले गर्दा एमाले प्यूठानमा थप बलियो बन्दै गएको छ ।

प्रकाशित मिति : October 23, 2021 at 8:45 am