२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेको १०औँ महाधिवेशन चितवनमा ! भोलि स्थायी कमिटी बैठक बस्दै

३ कात्तिक, काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेको १० औँ महाधिवेशन चितवन हुने भएको छ । बागमती प्रदेशको अधिवेशन आयोजक कमिटीको पहिलो बैठकले १० औँ बैठक बागमती प्रदेशभित्रै गर्न पार्टी नेतृत्वसँग माग गरेको छ । उसले महाधिवेशनको तयारीका लागि प्रदेशको अधिवेशन आयोजक कमिटी तयार रहेको पनि जनाएको छ ।

एमालेको केन्द्रीय नेतृत्वको संकेतमै बागमती प्रदेश कमिटीले यस्तो प्रस्ताव गरेको स्रोतले जनाएको छ । यसका लागि एमालेले बिहीबार दिउँसो पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार बस्ने स्थायी कमिटी बैठको एउटा एजेण्डा पार्टी महाधिवेशनसँग सम्बन्धित पनि रहेको छ ।

यसअघि विधान महाधिवेशनको समापनमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले वुटवलमा आगामी महाधिवेशन हुन सक्ने बताएका थिए । उनै ओलीले बुधबारको प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्दै अब अर्को प्रदेशको प्रस्ताव आए सोच्न सकिने बताएका छन । एमालेले १०औँ महाधिवेशन आउँदो मंसिर १०–१२ गर्ने तय भएको छ ।

एमालेले मंसिर १० मा चितवनमा बृहत जनप्रदर्शन समेत गरेर त्यही महाधिवेशनको उद्घाटन गर्ने तयारीका बारेमा छलफल चलेको छ । यद्यपी यस विषयमा आधिकारिक रूपमा एमालेको स्थायी कमिटी बैठकले निर्णय गर्नेछ । प्रचण्डको गृह जिल्ला समेत रहेको र कांग्रेसको वैशाखी टेकेर प्रचण्डले पुनः चितवनबाटै चुनाव लड्ने तयारी गरिरहेको परिप्रेक्ष्यमा एमालेले सन्देश दिन पनि चितवनमै महाधिवेशन गर्नुपर्ने एमालेका एक नेताले बताए ।

बिहीबारको स्थायी कमिटी बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन,  ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : October 20, 2021 at 9:05 pm