एमालेमा ओलीलाई कमजोर पार्नेगरी गतिविधि हुँदैन: महासचिव पोखरेल
२४ असाेज, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पछिल्ला राजनीतिक घटनाक्रमले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताएका छन् ।
आइतबार विजयादशमीको अवसरमा आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने समेत स्पष्ट पार्नुभएको छ पारे ।
मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएको विषयमा सोधिएको प्रश्नमा महासचिव पोखरेलले भने, “तपाईहरुले देखिरहनु भएकै छ, यो तमासा र विकृति कसरी वा किन भयो ? यसको वास्तविकता सञ्चार क्षेत्रले नै उजगार गरोस् ।”

पाेखरेलले एमाले विपक्षमा रहँदा पनि समृद्धिका लागि पहल जारी राख्ने र जनताका लागि आवाज उठाइरहने उल्लेख गर्दै अप्ठेरो स्थितिमा पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन हालै सम्पन्न विधान महाधिवेशनले नीति तथा विधिका लागि म्याण्डेट दिएको र मंसिरमा हुने दशौँ राष्ट्रिय महासधिवेशले नयाँ नेतृत्व निर्वाचित गर्ने बताए ।
आफू दुई कार्यकाल महासचिव भइसकेकाले त्योभन्दा माथि जुनसुकै पदका लागि ‘डिजर्भ’ गर्ने भए पनि अहिले अध्यक्ष ओलीले नेतृत्व गरेको यात्रालाई सत्ता गठबन्धनले चुनौती दिन खोजेकाले उनलाई कमजोर पार्नेगरी गतिविधि नहुने समेत बताए ।
प्रकाशित मिति : October 10, 2021 at 4:44 pm










