२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

देउवालाई प्रकाशमानले भने, ‘आईजीपी काण्डले के क्षति भयो हेक्का राख्नुस्

२४ असोज, काठमाडौँ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् । विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न् नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाए फ्रेस इलेक्सनमा जानुपर्ने बताए ।

कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, ‘झन्डै दुईतिहाई जनमत पाएको सरकार किन बाहिरनु पर्‍यो? विधि नमाने, कानुनभन्दा माथि बसे, मैले जे गरे पनि हुन्छ भनेकाले बाहिरियो ।’

ओली सरकार असफल किन भयो भन्ने नबुझेर फेरि म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य मान्यताविपरीत संविधानको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकत्नत्रका लागि गम्भीर चुनौती भएको बताए ।

उनले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले जनतामा कस्तो प्रभाव पार्‍यो भन्ने कुरा नबिर्सिनसमेत अपिल गरे । देउवा सरकारले यतिका दिन लगाएर पूर्णता पाएपछि उठेका गम्भीर प्रश्नलाई ख्याल ख्याल सोच्न नहुनेसमेत बताए । पार्टीभित्रका केही मान्छेहरुका गलत कार्यको सिङ्गो पार्टीले मूल्य चुकाउनुपर्ने भन्दै पदमा बस्नेले जे मन लाग्यो गर्ने अनि जनतामा आफूहरुले जवाफ दिँदै ढाकछोप गर्नुपर्ने अनि आफ्नै नेतालाई खुलाउने काम गर्‍यो भन्न मिल्छ भन्दै असन्तुष्टि पोखे ।

पार्टीभित्रको एउटा समूह सुरुदेखिनै आफूविरुद्ध गलत भ्रम फैलाउन लागेको भन्दै गणेशमान र मंगलादेबीको छोरा भएर विरासतको राजनीति गर्‍यो भन्ने आरोपको पनि कडा प्रतिवाद गरे । आफू बाबुआमाको नामबाट राजनीति नगरेको भन्दै सामान्य कार्यकर्ताले जस्तै विद्यार्थी जीवनबाटै राजनीतिक कार्यकता बनेर दु:ख कष्ट संघर्ष गर्दै जेलनेल भोगेर अगाडि बडेको बताए ।

आफू जागिर खाएर व्यापार ब्यवसायमा लागेर अनि रिटायर्ड लाइफ राजनीति गर्न आएको हैन भन्ने कुरा ख्याल गर्नसमेत आग्रह गरे । नेता सिंहले अवसर पाएर काम गर्न नसक्नेहरुको गुनगान गाएर आफ्नो स्वार्थ पूरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै गलत कुरालाई आफूले सही भन्न नसकने बताए ।

कांग्रेसको कमजोरीका कारण कम्युनिस्ट सत्तामा पुगेर लोकतन्त्र नै समाप्तिको बाटोमा लागेकाले अब लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्ने भन्दै बलियो कांग्रेसका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : October 10, 2021 at 2:44 pm