१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा चोरी, मन्दिर बसेका भक्तजन समेत लुटिए

२३ असोज, बैतडी । बैतडीको पाटनमा रहेको प्रसिद्ध उदयदेव मन्दिरमा चोरी भएको छ । मन्दिरमा राखेको दानपेटिका फोडेर पैसा चोरी भएको प्रहरीले जनाएको छ ।

घटस्थापनाको अघिल्लो राति मन्दिरमा चोरी भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । दानपेटिकामा कति रुपैयाँ थियो भन्ने कुरा भने खुलेको छैन । तर एक वर्षदेखि दानपेटिका नखोलेको हुनाले धेरै पैसा हुन सक्ने अनुमान गरिएको छ ।

मन्दिरबाट दानपेटिका ल्याएर चोरले मन्दिर गेट नजिकै फोडेको अवस्थामा फेला परेको स्थानीय लवदेव जोशीले बताए । यस्तै मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसासमेत लुटिएको छ ।

महेन्द्रनगरबाट मन्दिरको दर्शनका लागि आएका गणेशबहादुर चन्दको १७ हजार रुपैयाँ चोरिएको प्रहरीले जनाएको छ । चन्द मन्दिरमा सुतेको मौका पारेर उनको पैसा लुटिएको हो ।

चोरीमा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक शाहीले बताए । कसले चोरेको हो भन्ने कुरा यकिन नभए पनि २–३ जनामाथि निगरानी राखेर अनुसन्धान भइरहेको छ ।

उदयदेव मन्दिर जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको छ । उक्त मन्दिरमा महानवमीका दिन रांगाबोकाको बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १६:५२