सर्लाहीमा माओवादी छाड्नेको संख्या उल्लेख्य, हरिवन ३ का वडा अध्यक्ष एमालेमा प्रवेश
२३ असोज, सर्लाही । सर्लाहीमा माओवादी केन्द्र छाड्नेको संख्या ह्वात्तै बढेको छ । सर्लाहीको हरिवन नगरपालिकामा त माओवादीलाई संगठन बनाउने मुस्किल हुने अवस्था सिर्जना भएको नेताहरूले बताएका छन ।
पछिल्लो समयमा अलि चिनिएका र सुनिनेखालका सबै नेता नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादीले कुनै एजेण्डा बोक्न नसकेको र क्रान्तिको नाममा समान्ती संस्कार बोकेको कांग्रेसको टांगमुनी छिरेको भन्दै उनीहरूले पार्टी परित्यागको निर्णय लिएको बताएका छन । माओवादी छाड्नेहरू सबैजसो नेकपा एमालेमा प्रवेश गरेका छन ।
शुक्रबार मात्रै हरिवन नगरपालिका– ३ का वडाध्यक्ष दीपमान लोप्चन आफ्ना सहयोगीसहित एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका लोप्चन शुक्रबार एमाले प्रवेश गरेका हुन् ।

लोप्चन पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेमा समाहित भएको नेता विदुर प्याकुरेलले दैनिकीलाई जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य जुली महतो, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईलगायत उपस्थित रहेको पनि प्याकुरेलले बताए ।
प्याकुरेलका अनुसार यसअघि हरिवनकै वडा नम्बर १० का युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकास यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।
प्रकाशित मिति : October 9, 2021 at 4:39 pm










