गजेन्द्र हमाललाई मन्त्री पद घृणित खेल: भीम रावल
२२ असाेज, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा गजेन्द्र हमालको प्रवेशलाई घृणित खेल भएको आरोप लगाएका छन् ।
देउवा क्याविनेटमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराले समेत भाग पाएपछि नेपालको राजनीतिमा अदृश्य खेलाडीहरु सतहमा आउन थालेका छन् । र, यसको उग्र विरोध पनि हुन थालेको छ । राणाका तर्फबाट उनका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आक्रोश पोख्दै रावलले मन्त्रीमा हमालको नियुक्तिले नेपालको राजनीतिमा खतरनाक प्रबृत्ति र परम्परा एवं घृणित खेललाई प्रवेश गराएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढालेर प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई नियुक्ति दिन प्रधानन्यायाधीश राणा नेतृत्वको संबैधानिक इजलासले ठाडो आदेश दिएको दिएको थियो ।
नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘सर्बोच्च अदालतका प्रधान न्यायाधीशसंगको सांठगांठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खबरले प्रम देउवा र गठबन्धनका नेताहरुको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ । यसले नेपालको राजनीतिमा खतरनाक प्रबृत्ति र परम्परा एवं घृणित खेललाई प्रवेश गराएको छ ।’
प्रकाशित मिति : October 8, 2021 at 8:21 pm










