पार्टीभित्र कसैको पनि फरक मत छैनः उपमहासचिव पौडेल
१८ असोज, काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताए । उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी गरे । पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि नगरेको स्पष्ट पारे ।
उनले भने, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माइन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रूपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ ।’
उहाँले थप्नुभयो, ‘यदि कसैले औंपचारिक रुपमा फरक मत राखेन भने देखिन उ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौं । औपचारिक रुपमा माइन्युटमा कसैले मेरो मत यो हो भनेर दर्ज नगर्दासम्म पार्टीमा फरक मत छ भनेर मानिँदैन ।’

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताउनु भयो । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ । उनले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्ठावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरू पुनः फर्किने क्रम सुरु भएको पनि बताए ।
उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ बढी प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गरे । आइतबार सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरेको थियो । उपमहासचिव पौडेलले महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताए ।
प्रकाशित मिति : October 4, 2021 at 3:38 pm










