२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

माओवादी सखाप पार्ने प्रतिक्रियावादीको रणनीति परास्त गर्याैँः प्रचण्ड

१४ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन र उपलब्धि समाप्त पार्ने रणनीति परास्त गरेको बताएका छन् । पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले डेढ वर्षयता जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारीलाई पराजित गरेको बताए ।

‘गएको डेढ वर्षदेखि लगातार हामी जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारी प्रवृत्तिसँग संघर्ष गर्‍यौं । त्यो ब्याटलमा हामी विजयी भएका छौं,’ एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले भने, ‘हामी पराजित भएको भए संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने, समावेशी समानुपातिक मौलिकलगायत प्राप्त अधिकार उल्टिने खतरा थियो ।’

ओलीले चालेका कदमविरुद्धको लडाइँलाई प्रचण्डले अर्को जनयुद्धको नाम पनि दिए । ‘जसरी जनयुद्धमा प्रतिक्रियावादीले हामीलाई घेरा हाल्ने सखाप पार्ने रणनीति लिएका थिए हामीले घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति लिएका थियौं ।

अहिले शान्ति प्रक्रिया भएको १५ वर्षपछि पनि फेरि त्यहीँ लडाइँ भयो,’ उनले भने, ‘उनीहरूले घेरा हाल्ने, सखाप पार्ने, हाम्रा राजनीतिक एजेन्डा सखाप पार्ने, हाम्रो नेतृत्वलाई सखाप पार्ने रणनीति लिए । हामीले फेरि घेरा तोड्ने र प्रतिरोध गर्ने भएर सडकमै गयौं र लाखौ जनताको साथमा आन्दोलित भयौं । विजयी भयौं ।’

प्रकाशित मिति : September 30, 2021 at 1:46 pm