प्रचण्डले नारायणकाजीलाई रोक्न खोज्दा माओवादीले आज पनि मन्त्री छान्न सकेन
१३ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी कमिटी बैठकले सरकार विस्तारका बारेमा केही पनि निर्णय गरेन । पेरिसडाँडामा आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारबारे कुनै निर्णय नगरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकमा आगामी राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल केन्द्रित भएको थियो । ‘तल्लो तहबाट सम्मेलनमा कसरी प्रतिनिधित्व गराउने भन्नेबारेमा छलफल भयो’, उनले भने, ‘प्रदेशको सम्मेलनका बारेमा पनि छलफल भएको थियो । मोटामोटीको सम्मेलनमा एकरूपताका बारेमा छलफल भयो ।’ माओवादी केन्द्रले आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्दै छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै नै गठबन्धनको बैठक बसेर मन्त्रिपरषिद् विस्तार गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सहभागी छन् ।
प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई सरकारमा जानबाट रोक्न अनेक प्रयास गरिरहेका छन । जसको कारण आज पनि माओवादीले मन्त्री छान्न नसकेको एक नेताले बताए । श्रेष्ठले उपप्रधानसहित परराष्ट्र मागेका थिए । त्यसमा कांग्रेसले नारायण खड्कालाई नियुक्ति दिइसकेको छ ।
त्यस्तै श्रेष्ठको रोजाइ मध्येको अर्को एउटा स्वास्थ्य पनि कांग्रेसले नै लिएको छ भने अब शिक्षा मन्त्रालयमा श्रेष्ठको दाबी रहेको छ । यद्यपी देउवाले उपप्रधानमन्त्री नबनाउने भनेको भन्दै प्रचण्डले श्रेष्ठलाई रोक्ने बहाना बनाएका छन ।
देउवालाई नै प्रधानमन्त्री बनाउन र एमाले विभाजन गरेर माधव नेपालको नयाँ पार्टी बनाउन भूमिका निर्वाह गर्न सक्ने प्रचण्डले एउटा उपप्रधानमन्त्री सरकारमा राख्न लगाउन नसक्ने पक्कै पनि होइन तर उनी नारायणकाजीलाई सरकारमा जानबाट रोक्ने प्रयत्नमा देखिन्छन । जसका कारण बुधबार मन्त्री छान्नकै लागि भनेर बसेको माओवादीको बैठकले कुनै निर्णय दिन सकेन ।
प्रकाशित मिति : September 29, 2021 at 8:11 pm





