१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाली सेनामा निरन्तर अनुशासन उल्लंघन गर्ने उपरथी कार्कीको जिम्मेवारी परिवर्तन

९ असोज, काठमाडाैँ ।  नेपाली सेनामा निरन्तर अनुशासन उल्लंघन गर्ने उपरथी अनन्त कार्कीको जिम्मेवारी हेरफेर भएको छ । सेना जस्तो संवेदनशिल र अनुशासित संगठनभित्र उपरथी कार्कीले गैर अनुशासनका किर्तिमान कायम गर्ने थालेपछि नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मा आजित भएर उनको जिम्मेवारी फेरवदल गरेको सैनिक स्रोत बताएको छ ।

विगतदेखि नै विवादास्पद छवी र गैरअनुशासित क्रियाकलाप पटकपटक प्रकट भए पनि कार्कीलाई यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले कारबाही गर्न सकेका थिएनन् । थापाको कार्यकालमा कार्कीलाइ कारबाही त परको कुरा स्पष्टिकरण सोध्ने काम पनि भएन । बरु थापाले उपरथी कार्कीलाई महत्वपूर्ण जिम्मेवारी दिएर पुरस्कृत समेत गर्दै आएको देखिन्थ्यो ।

सार्वजनिक कार्यक्रममै उपरखुट्टी लगाएर चुरोट तान्दै गरेका कार्की ।

सेनामा रहेका उच्च अधिकृतदेखि जवानसम्मका सानातिना कमजोरी कोट्यादै हिंड्ने पूर्वप्रधानसेनापति थापाले कार्कीका विभिन्न कमजोरीबारे वेखवर जस्तै बनिदिन्थे ।

कोभिड प्रकोप प्रारम्भ हुँदा पूर्वी पृतना हेडक्वाटर इटहरीको पृतनापतिको जिम्मेवारीमा रहँदा प्रदेशका मुख्यमन्त्री, मन्त्री र प्रमुख जिल्ला अधिकारी सहभागी बैठककै विचमा वरिवरी जवान राखेर चुरोट पिएको भिडियो सार्वजनिक भएको थियो ।कार्कीको कमजोरीका विषयमा न्युज २४ टेलिभिजनमा प्रशारण भएको एक रिपोर्ट ।

सार्वजनिक स्थलमै त्यस्तो दृश्य देखिएपछि धेरैले तत्कालीन प्रधानसेनापति थापाले अनुशासनको कार्वाही गर्ने अनुमान गरेका थिए । तर उल्टै उपरथी कार्कीलाई जंगी अड्डाको सवैभन्दा महत्वपूर्ण र संवेदनशिल मानिने नीति तथा योजना महानिर्देशनालयमा ल्याएर प्रमुखको जिम्मेवारी दिइएको थियो ।

धनुषामा सेनाको जग्गा खरिददेखि फास्ट ट्रयाकको परामर्शदाता नियुक्ति हुँदै सुरुङमार्गको ठेक्काका विभिन्न चरणमा यसअघि प्रधानसेनापति थापाले उपरथी कार्कीका साथै उपरथीद्धय रघु भण्डारी र प्रेम शाहीलाई अस्वभाविक जिम्मेवारी दिएका थिए ।

आफ्नो सम्पूर्ण कार्यकाल अवधिभरी पूर्वप्रधानसेनापति थापाले यिनै तीन जनाको योजनामा ठेक्कापट्टाका काम, जिम्मेवारी र कार्वाहीका योजना गर्दै आएका थिए । उनीहरुको मिलेमतोमा आफ्नै ‘व्रदर अफिसर’माथि फोन ‘ट्रयापिङ’ देखि ‘लोकेशन ट्रयाकिङ’ सम्म गरिदै आएको चर्चा सेनाभित्र छ ।

पछिल्लो उपरथीद्धय कार्की र प्रेम शाहीको मिलेमतोमा सैनिक मुख्यालयभित्र भित्र्याइएको सिद्धार्थ कटेजको शाखा ‘सिद्धार्थ क्लाव’ भित्र अस्वभाविक पोशाकमा भेटिएका कार्कीले उपद्रो व्यवहार देखाउन थालेपछि उनको आलोचना भैरहेको थियो ।

महिला सैनिक तथा परिवार उपस्थित हुने उक्त क्लवमा असहज लाग्नेगरी असभ्य र अशोभनीय तरिकाले उपस्थित भएपछि सवैले कार्वाही र सजाय हुनुपर्यो भन्दै उजुरी समेत दिएको बुझिएको छ । उनले आफ्नै अफिसरहरुलाई समेत पाखण्डीपूर्ण व्यवहार देखाउने, धम्काउने र गाली गर्ने काम गर्दै आएको बताइन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १२:१३