बालुवाटार जग्गा प्रकरणबारे गच्छदारले भनेः मेरो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भयो
६ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सभापति विजय गच्छदारले आफुमाथि षड्यन्त्र गरेर झुटा मुद्दा लगाएर आफ्नो राजनितिक जीवन समाप्त गर्न खोजिएको आरोप लगाएका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गच्छदारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै हात नहुदापनि छानीछानी मुद्दा चलाइएको बताए । उनले उन्मूक्ति दिनु नपर्नेलाई उन्मूक्ति दिई कसैलाइ काखा र कसैलाइ पाखा गरिएको बताए । उनले भने, ‘कसैकसैलाई दलीय संरक्षण प्रदान गरी मेरो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भयो ।’
उनले आफ्नो जीवन खुल्ला किताबजस्तो भएको बताए । ५० वर्षका अनवरत राजनीतिक यात्रामा आफूले कठोरभन्दा कठोर दिनहरूसँग जुधेको भन्दै उनले आफूमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भएको दावी गरे ।

गच्छदारले भने ‘बुढी मरी भन्दा पनि काल पल्किने डर छ,’ ‘यदि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले ममाथि भएको अन्यायविरुद्ध आवाज उठाएनन् भने भोलि अरुमाथि पनि यस्तै षड्यन्त्रका तानावानाहरू बुनिनेछन्, उनले भने।’
गच्छदारले आजसम्म आफुले राष्ट्रलाई हानी नोक्सानी हुने र आफुलाई मात्र लाभ हुने कुनै पनि गैरकानूनी कार्य नगरेको बताए । लामो समय मन्त्री पदको जिम्मेवारी पाउँदा आफ्नो र परिवारको सम्पति विवरण सार्वजनिक गरेको बताउदै उनले ललिता निवास जग्गा प्रकरणमा आफुले पदीय जिम्मेवारी बाहेक अन्यथा केही नगरेको बताए ।
प्रकाशित मिति : September 22, 2021 at 4:50 pm










