२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले पेश गरे राजनीतिक प्रतिवेदन

५ असाेज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

मंगलबार शुरू भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको  बताए ।

त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराइएको पनि उनले जानकारी दिए । ‘थपिएका केन्द्रीय कमिटीका सदस्यहरू जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौँ ११६ जनाको नाम थियो । उहाँहरूलाई सनाखत गरिएका बाहेक थप गरिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराएका छौँ,’ उनले भने, ‘यस पश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । भोलि बिहान १० बजेसम्मका लागि समय निश्चित गरेका छौँ ।’

पार्टीको बैठक बुधबार पनि बस्ने उनले जानकारी दिए । बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने उनको भनाइ छ । आवधिक कार्ययोजना बनाई तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनर्जागृत गरिने योजना रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : September 21, 2021 at 6:36 pm