मुलुकमा सरकारी गुण्डागर्दी बढ्यो, प्रतिवादमा उत्रिनूस्ः अध्यक्ष ओली
५ असाेज, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको आरोप लगाएका छन्।
सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै अध्यक्ष ओलीले त्यसको प्रतिवादमा उत्रन पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलबार अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको बताए । उनले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरुले आपत्ति जनाउनु परेको समेत बताएका छन् ।

उनले मुकदर्शक भएर बसेमा कांग्रेसले जे पनि गर्ने तर्क गरे। पञ्चायतले पेल्दा नबोलेको कांग्रेस आफूले मौका पाउँदा पेल्न तयार हुने उनको भनाइ थियो। ‘२०१७ साल हेरे हुन्छ। २०१७ सालमा दुई तिहाई ल्याएको काँग्रेस संसद सबै अपदस्थ गर्दा पनि कांग्रेस केही पनि बोलेन। कोही पनि बोलेन। ३० वर्षसम्म किन चल्यो? पछि त्यहीँ सिको गरेर ज्ञानेन्द्रले गरेको होईन ? माघ १९। माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यस रेजिमको नै समाप्त गरिदियो जनताले’, उनले भने, ‘त्यस शासन नै अन्त्य गरिदियो जनताले।
तसर्थ जनता सचेत हुनुपर्दछ। जनतालाई सरकारले दुःख दिनु हुँदैन। लोकतन्त्र केही मानिसहरु शासनमा पुग्ने प्रणाली मात्रै होइन। जनतालाई छकाउने प्रणाली होइन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो।’
अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढन पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई सचेत गराए। उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरुले अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।
प्रकाशित मिति : September 21, 2021 at 6:13 pm










