१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ८.५ प्रतिशत लाभांश दिने प्रस्ताव

५ असाेज, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ८.५ प्रतिशत लाभांश दिने भएको छ। सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको निफ्राले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जसअनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । कम्पनीले असार मसान्तसम्म ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा छ। प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ छ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिनेछ।

कम्पनीले हालसम्म जम्मा २ अर्ब २७ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ। जलविद्युत लगायत पूर्वाधार क्षेत्रमा ऋण लगानी नै कम्पनीको मुख्य व्यवसाय हो। विभिन्न धितोपत्रहरुमा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ।

२० अर्ब चुक्ता पुँजी रहेको कम्पनीले ३० करोड रुपैयाँ निक्षेपका रुपमा संकलन गरेको छ। एक वर्षमा जम्मा ५ करोड मात्रै निक्षेप बढेको छ। २ अर्ब ४० करोड रुपैयाँ रिजर्भका रुपमा जम्मा गरेको छ।

सेयर बजारमा कम्पनीको मूल्य भने ओरालो यात्रामा देखिएको छ। असार २७ गते कम्पनीको मूल्य प्रतिकित्ता ५११ रुपैयाँ रहेकोमा हाल ३८० रुपैयाँको हाराहारीमा छ।

अहिलेसम्म कम्पनीको अधिकतम मूल्य कारोबार भइरहँदा प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको छ भने कारोबार बन्द हुँदा अधिकतम ६२३ रुपैयाँसम्म पुगेको छ। कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्रोत हो।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १३:२८