१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

नेपालीले बनाएका खेल विश्वभर लोकप्रिय, खेल निर्माण उद्योगलाई प्रवर्द्धन गर्ने प्रधानमन्त्री शाहको घोषणा

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा विकसित खेल तथा सूचना प्रविधिका उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सरकारले नीतिगत सुधार र सहज व्यावसायिक वातावरण निर्माण गर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले नेपालमा बनेका लुडो र कलब्रेकजस्ता खेल विश्वभर लोकप्रिय रहेको उल्लेख गर्दै खेल निर्माणको क्षेत्रमा नेपाली युवाहरूको बढ्दो आकर्षणलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार नेपालीले निर्माण गरेका विश्वचर्चित लुडो खेल करिब २० करोड पटक र कलब्रेक खेल १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन्। यसबाहेक सयौँ नेपाली युवा खेलसम्बन्धी मोबाइल अनुप्रयोग निर्माणमा सक्रिय रहेको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले खेल निर्माणमा संलग्न कम्पनी तथा युवाहरूसँग छलफल गरी उनीहरूका समस्या र चुनौती बुझिएको जानकारी दिएका छन्। यस क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा अघि बढाउन आवश्यक गृहकार्यसमेत सुरु गरिएको उनको भनाइ छ।

नेपालबाटै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने र विश्वस्तरका ठूला कम्पनी निर्माण गर्न सकिने वातावरण बनाउन आवश्यक नीति, नियम र संरचनाको पुनरावलोकन गरिने उनले बताएका छन्।

त्यस्तै, सूचना प्रविधिका उत्पादन तथा निर्यातको सम्भावना बढ्दै गएको उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत प्रतिभा र कम्पनीलाई सहज रूपमा आम्दानी गर्ने, पुनः लगानी गर्ने र व्यवसाय विस्तार गर्ने वातावरण निर्माणमा जोड दिइने उनले बताएका छन्।

यसका लागि कर प्रणालीलाई सहज बनाउने, नीतिगत सुधार गर्ने तथा अन्तर्राष्ट्रिय बजारबाट हुने आम्दानीसँग सम्बन्धित विद्यमान नियमलाई थप सहज बनाउने विषयमा काम गरिने प्रधानमन्त्री शाहको भनाइ छ।

प्रधानमन्त्रीले खेल निर्माण तथा सूचना प्रविधि उद्योगको विकासका लागि विभिन्न कार्यक्रम र गतिविधिमा लगानी गर्ने योजना पनि सार्वजनिक गरेका छन्। खेल निर्माणसम्बन्धी प्रतियोगिता, नयाँ उद्यम प्रवर्द्धन कार्यक्रम, सूचना प्रविधि क्षेत्र र नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबीच नियमित छलफल, प्रविधिसम्बन्धी सिर्जनात्मक प्रतिस्पर्धा तथा उद्योगको समग्र विकासमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन्।

नेपाली युवाको सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने कम्पनी निर्माण गर्ने वातावरण तयार पार्नु सरकारको प्राथमिकतामा रहने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

प्रकाशित मिति : October 31, 2026 at 11:03 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/