समस्याग्रस्त कर्णालीका संस्थापकको सेयर पूँजी १ प्रतिशतमा झारियो
१३ कात्तिक, काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर पूँजी ९९ प्रतिशतले कटौती भएको छ । राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले बैंकको पुनर्संरचना गर्ने प्रक्रिया अन्तर्गत गैरकानूनी तरिकाले पूँजी चुक्ता गरेका २५ संस्थापक र १० साधारण गरी कुल ३५ सेयरधनीको सेयर पूँजी ९९ प्रतिशतले घटाएर १ प्रतिशतमा सीमित गरिदिएको हो ।
याे निर्णयसँगै ती सेयरधनीहरूको साविकमा रहेको कुल २१ लाख ४८ हजार ७४५ कित्ता सेयर घटेर अब २१ हजार ४८७ कित्तामा सिमित भएकाे छ । निक्षेप हिनामिना र कमजोर वित्तीय सुशासनका कारण राष्ट्र बैंकले २०८१ पुस १० गते बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि गरिएको सम्पत्ति तथा दायित्व मूल्यांकनमा बैंकको सम्पत्तिले दायित्व धान्न नसक्ने अवस्था देखिएको थियो।

राष्ट्र बैंकका अनुसार सेयरधनीबाट चुक्ता हुनुपर्ने सेयर पुँजीबापतको रकम अवैधानिक रूपमा चुक्ता भएको देखिएकाले बैंकको पुनर्संरचना गर्ने क्रममा सेयर पुँजी घटाइएको हो। सेयर पुँजी घटाउने निर्णयलाई कम्पनी रजिस्ट्रार कार्यालयमा अभिलेखीकरण गर्नुअघि कानुनी प्रक्रिया पूरा गरिनेछ। यसका लागि आगामी मंसिर ९ गते उच्च अदालत तुलसीपुरमा सुनुवाइ तोकिएको छ। राष्ट्र बैंकले सेयर घटाउने निर्णयप्रति कुनै दाबी वा विरोध भएमा सम्बन्धित सेयरधनीलाई आवश्यक प्रमाणसहित सुनुवाइमा उपस्थित हुन आग्रह गरेको छ।
प्रकाशित मिति : October 30, 2026 at 2:46 pm










