२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माओवादीको एमालेकरणः अब अध्यक्ष र पदाधिकारीको चयन निर्वाचनबाटै हुने

५ असोज, काठमाडौँ । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी केन्द्रले पनि कांग्रेस र एमाले जस्तै वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचन मार्फत चयन गर्ने भएको छ ।

माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।

यसरी निर्वाचित भएर आउनुपर्नेको संख्या दुई लाख ८५ हजार रहेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेता वर्षमान पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी गराएका थिए ।

निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ । अब अध्यक्ष बन्न चाहेमा प्रचण्ड पनि चुनावबाटै आउनुपर्नेछ ।

माओवादीले विष्णुपुकार श्रेष्ठलाई केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष बनाएको छ । माओवादीले आगामी ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : September 21, 2021 at 12:55 pm