२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

चारजना व्यापारीलाई पोस्ने र दर्जनौँलाई पेल्नेगरी सेटिङमा विधेयक आयोः केपी ओली

३ असोज, काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट प्रतिस्थापन विधेयक सेटिङमा आएको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चारजना व्यापारीलाई पोस्ने र दर्जनौँलाई पेल्नेगरी विधेयक आएको टिप्पणी गरे । सानो व्यापारीलाई चेप्ने र क्यासिनो व्यापारीलाई छुट दिने भन्दै उनले आक्रोश पोखे ।

‘सरकार के मा लागेको छ ? उद्यमीहरु सेटिङ भयो भनेर कराइरहेका छन् । पीडा पोखिरहेका छन्,’ उनले भने, ‘चारजनालाई पोस्ने, दर्जनौंलाई पेल्ने ? प्रतिस्थापन विधेयक त्यसैले आएको रहेछ ।’ ७० दिनमा मन्त्रिमण्डल विस्तार गर्न नसकेको, बजेट ल्याउन नसकेर देश बजेटविहीन भएको, आफ्ना कार्यकर्ता भर्ती गर्न सुकुम्बासी आयोग खारेज गरेको, मेलम्चीको पानी ल्याउन ध्यान नदिएको भन्दै ओलीले सरकारको आलोचना गरे ।

‘कस्तो सरकार होला ? ७० दिनमा सरकारले मन्त्रिपरिषद पूर्णता दिँदैन । दुई महिनापछि बजेट होलिडे छ । बजेटविना सरकार चलेको छ । कस्तो आश्चर्यको कुरा ? सुकुम्बासी आयोग किन भंग गरेकोभन्दा आफ्ना मान्छे नियुक्त गर्न ? प्रतिस्पर्धाबाट आएका मान्छे हटाएर आफ्ना मान्छे राख्न ? चाहिने आयोग बन्द किन गरेको भन्दा आफ्नो मान्छे भर्ती गर्न । मेलम्चीको पानी ल्याउन यो सरकारको ध्यान छैन । यस्तै हो भने दुई वर्षमा पनि आउँदैन,’ उनले भने ।

प्रकाशित मिति : September 19, 2021 at 2:52 pm