२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

डडेल्धुरामा देउवा समूह र मल्ल समूहबीच आरोपप्रत्यारोप, अदालत जाने चेतावनी

३० भदौ, डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन विवादकाबीच सकिएको छ । तर, जिल्लामा रहेका काँग्रेसका दुई गुटभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ। जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा र कर्ण मल्ल पक्षका छुट्टाछुट्टै गुट छन् ।

डडेल्धुरामा देउवा र अर्को वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लबीच प्रतिस्पर्धा हुने गरेको छ । देउवा र मल्लले महाधिवेशनको समयमा आफ्नो शक्ति प्रदर्शन गर्दै आएका छन् । तर, पछिल्लो समयमा भने मल्ल हाबी भएको देखिन्छ ।

मल्लले देउवालाई रोक्दै दुई कार्यकाल जिल्ला सभापतिको नेतृत्व सम्हालेका थिए । यसपटक पनि जिल्लामा मल्ल हावी हुने डरले जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८०४ जनाको नामावली पठाएकोमा छानविन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको मल्ल पक्षका नेताहरूको भनाइ छ ।

देउवाले गृह जिल्लामा हाबी हुनका लागि आफू अनुकूलका ३ सय १२ जना थपेर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन गरेको मल्ल पक्षले बताउँदै आएको छ । देउवा पक्षले वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि चयन गरि सम्पन्न गरिसकेको छ । तर, यता मल्ल पक्षले भने वडा अधिवेशनलाई वैधता दिन नसक्ने जिकिर गर्दै आएको छ ।

छुट्टाछुट्टै पत्रकार सम्मेलनः आरोप प्रत्यारोप

पत्रकार सम्मेलन गर्दै प्रहरीको सुरक्षा घेराभित्र गरिएको एकपक्षीय वडा अधिवेशन नमान्ने र पुरानै कमिटीलाई यथावत राख्ने सभापति मल्लले बताए । उनले एकलौटी रूपमा गरिएको अधिवेशनबाट आएको नेतृत्व स्वीकार्य नहुने र त्यसकाविरुद्ध सर्वोच्च अदालत जाने चेतावनीसमेत दिए ।

तर, यता देउवा समूहबाट सभापतिका आकांक्षी भीमबहादुर साउदले पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समितिले गरेको निर्वाचनलाई वैधता नदिएर कसलाई दिने भन्दै प्रश्न उठाए । उनले गृहजिल्लामा देउवालाई कमजोर बनाउने खेल भइरहेको जिकिर गरे ।

‘अधिकांश क्षेत्रमा वडा अधिवेशन सर्वसम्मत रूपमा भएको छ । केही वडाहरूमा चुनावमार्फत नेतृत्व र प्रतिनिधि छनौट भएर आएका छन्,’ उनले भने, ‘यसलाई कसरी अवैध भन्ने? पार्टी सभापति मल्लसहित केही साथीहरू चुनावबाट डराएर रोक्ने प्रयास गरे ।’

देउवाले पार्टी सभापति लड्ने उद्घोष गरेपछि देउवालाई विवादित बनाउन पौडेल समूह जिल्लाभित्र पनि छिरिसकेको उनको संकेत थियो ।

प्रकाशित मिति : September 15, 2021 at 12:33 pm