माधव नेपालको पार्टीमा नजान एमालेको आह्वान
२१ भदौ, खोटाङ । नेकपा एमाले खोटाङले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आफ्ना नेताहरूलाई जानबाट रोक्ने निर्णय गरेको छ । १९ र २० भदौमा बसेको एमाले जिल्ला कमिटीको ११औं पूर्ण बैठकले फुटबाट पार्टीलाई पुग्ने क्षतिलाई सकेसम्म न्यूनीकरणका लागि पहल गर्ने निर्णय गरेको हो ।
एमालेबाट अलग्गिर गठन भएको नेकपा (एस) को दुई दिन चलेको बैठकका निर्णय सार्वजनिक गर्न सोमबार बिहान जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष रामप्रसाद दंगालले मुलुकको बलियो शक्तिको रुपमा रहेको एमालेलाई फुटाउने षडयन्त्र गरेर देशलाई प्रतिक्रियावादी शक्तिको पाउमा सुम्पने धृष्टता विरुद्ध डटेर सामना गर्ने बताएका छन् ।
एमालेले सूर्य चिन्हबाट निर्वाचित भएका जिल्लाका जनप्रतिनिधिलाई टुटफुट र विभाजनको पक्षमा नलाग्न उनले आह्वान गरे । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई एमाले कि नेकपा (एस) रोज्न २२ भदौसम्मको समयसीमा दिएको अवस्थामा एमालेले सूर्य चिन्हबाट निर्वाचित भएका जनप्रतिनिधिलाई टुटफुट र विभाजनको पक्षमा नलाग्न आह्वान गरेको हो ।

बैठकले पार्टी केन्द्रीय कमिटी र स्थायी कमिटीको निर्णयअनुसार पार्टीको सम्पूर्ण संरचना २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको एमालेले जनाएको छ । एमाले जिल्ला कमिटीको १०–१४ वैशाख २०७२ मा बसेको छैठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नेकपा (एस)मा लागेपछि बैठकले एमालेको अध्यक्षमा रामप्रसाद दंगाललाई मनोनयन गरेको छ ।
जिल्ला अधिवेशनबाट उपाध्यक्ष चुनिएका दंगाल अध्यक्ष भएपछि सचिव देवविक्रम राई उपाध्यक्ष र उपसचिव कुमार आचार्यलाई सचिवको जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।
बैठकले संगठन निर्माणका लागि जिल्लामा अभियान चलाउने, साता दिनभित्र साविकको टोल कमिटी गठन गर्ने, आगामी ६ कात्तिकभित्र वडा अधिवेशन सक्ने, ९कात्तिकभित्र नगर तथा गाउँपालिका अधिवेसन सक्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रकाशित मिति : September 6, 2021 at 12:48 pm










