२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेमा ७५ केन्द्रीय सदस्य थपिदै, ५५ सदस्य भीम रावलले सिफारिस गर्ने

१७ भदाै, काठमाडाैँ । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन मध्यमार्गी धारबाट एमाले एकता जोगाउन लागेको समूहबाट हुने भएको छ । २०७५ २ जेठ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेपछि एमालेमा हाल ती पद रिक्त छ ।

रिक्त पदपूर्ति गर्दा मध्यमार्गी धारबाट एमाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका उपाध्यक्ष डा भीमबहादुर रावल समूहले चयन गर्नेछ । ती ५५ जनाको नामको सूची भने माधवकुमार नेपालको पार्टी विभाजनको अभियानमा साथ नदिएका स्थायी कमिटीका १० जना सदस्यले गर्नेछन ।

१० मध्ये पनि ५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी भने उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्राप्त गरेका छन । एमाले अध्यक्ष केपी ओलीले विगतमा नेपाल समूहमा आवद्ध भएका तर हाल एमालेतर्फ खुलेका मध्येबाटै रिक्त पदपूर्ति गर्ने भन्दै रावल र पाण्डेलाई सदस्य सिफारिसको जिम्मा दिएका हुन ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमति अनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशन अघि नै लगाइने तयारी छ ।

तमाङका अनुसार विधान अधिवेशन अघि पार्टी छाडेका ५५ जना र मनोनयनमा पर्ने २० जना गरी ७५ जनालाई विधान अधिवेशन अगावै केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ । ‘साथीहरू कसलाई केन्द्रमा लैजाने भन्ने विषयमा छलफलमा हुनुहुन्छ चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउँछ,’ तामाङले भने ।

एमाले विभाजन भएसँगै दुवै पार्टीका नेताहरू एकले अर्को पार्टीका नेता तानेर केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले पनि केन्द्रीय सदस्य नभएका तर पार्टीभित्र राम्रो प्रभाव राख्ने तर हाल नेकपा (एस) मा खुलेका नेताहरूलाई केन्द्रीय सदस्यको अफर गरिरहेको छ ।

प्रकाशित मिति : September 3, 2021 at 8:29 am