८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

न्यादी हाइड्रोको आईपीओ आजबाट खुल्याे, कसले दिने आवेदन ?

१ भदाै, काठमाडाैँ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएकाे छ। रु. १८ करोडको यो आईपीओमा आयोजना प्रभावित, स्थानीय र न्यादी हाइड्रोका कर्मचारीले आवेदन दिन पाउनेछन्।

लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जारी पुँजी १ अर्ब ५० करोडको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता तथा कम्पनीको संस्थापक सेयरधनी संस्था बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ विद्युत विकास कम्पनी लिमिटेडका कर्मचारीका लागि ३ लाख कित्ता सेयर निष्कासन गरेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको कुल कित्तामध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ (साबिक खुदी गाविस वडानम्बर १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६, ७ र ८ (साबिक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा) का स्थानीय बासिन्दालाई ५ लाख कित्ता सेयर र उक्त आयोजना प्रभावित क्षेत्रबाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि १० लाख कित्ता सेयर निष्कासन गरिएको छ।

यस कम्पनीकाे आईपीओमा छिटोमा भदौ १५ गतेसम्म र ढिलोमा ३० गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यो कम्पनीको प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ।

यो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेका छन्।

प्रकाशित मिति : August 17, 2021 at 8:07 am