नेप्सेका नवनियुक्त सीईओ सुवेदीले गरे पदभार ग्रहण
२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् । नेपाल सरकारको गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेप्सेको सीईओमा नियुक्त भएका सुवेदीले आज नेप्से सञ्चालक समिति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

पदबहालीपश्चात् नेप्सेका कर्मचारीहरूसँग आयोजित संक्षिप्त परिचयात्मक कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीले मुलुकको आवश्यकताअनुसार पूँजी बजारको विकास तथा विस्तारमा आफ्नो ध्यान केन्द्रित हुने बताए । उनले नेपाल सरकार, नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), लगानीकर्ता तथा कारोबार सदस्य (ब्रोकर) लगायतका सम्पूर्ण सरोकारवाला पक्षहरूसँग सहकार्य र कार्यशील सम्बन्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनीसँग बैंक तथा वित्तीय क्षेत्रको तीन दशकभन्दा लामो अनुभव रहेको छ।
प्रकाशित मिति : November 6, 2026 at 2:46 pm










