२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

सशस्त्र प्रहरीले चार महिनामै बरामद गर्‍यो १ करोड २१ लाखभन्दा बढीको पटका

२१ कात्तिक, काठमाडौँ ।  तिहार तथा छठ पर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा ओसारपसार गरिएका पटका नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले चालु आर्थिक वर्षमा १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को श्रावणदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरको पटका बरामद गरिएको हो ।

बरामद पटका प्रदेशगत रूपमा सबैभन्दा बढी मधेस प्रदेशबाट रहेको छ। मधेस प्रदेशबाट मात्रै ७४ लाख ३१ हजार ९ सय ९ रुपैयाँ बराबरको पटका बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै कोशी प्रदेशबाट ११ लाख ४९ हजार ३ सय ५० रुपैयाँ, लुम्बिनी प्रदेशबाट १८ लाख ३२ हजार २ सय १२ रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १४ लाख ८० हजार ३ सय ९८ रुपैयाँ तथा बागमती प्रदेशबाट २ लाख ३५ हजार रुपैयाँ बराबरको पटका बरामद भएको छ।

सशस्त्र प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ५९ हजार ५ सय ४० रुपैयाँ बराबरको पटका बरामद भएको छ। पछिल्लो समय तिहार र छठ पर्वका लागि सीमावर्ती क्षेत्रबाट अवैध रूपमा पटका भित्र्याउने तथा विभिन्न स्थानमा ओसारपसार गर्ने क्रम बढेकाले निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ।

तिहार तथा छठका समयमा पटका, आतसबाजी लगायतका विस्फोटकजन्य सामग्रीको अवैध प्रयोग रोक्न सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

उनका अनुसार अवैध रूपमा पटका भित्र्याउने, ओसारपसार गर्ने तथा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रदेखि विभिन्न बजार तथा आवतजावतका नाकामा चेकजाँचलाई तीव्रता दिएको छ।

पटका तथा आतसबाजीको अवैध प्रयोगबाट आगलागी, जनधनको क्षति र वातावरणीय प्रदूषणको जोखिम बढ्ने भएकाले नियन्त्रण अभियानलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : November 7, 2026 at 4:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/