एमाले कार्यदलको बैठकपछि शंकर पोखरेलले भन्नुभयाेः आजै टुंगाउन कोसिस गरिरहेका छौँ
२५ असार, काठमाडाैँ । नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। केही घन्टादेखि जारी छलफलमा आजै सहमति खोज्ने प्रयास भइरहेको छ। बैठकबाट निस्किनुभएका कार्यदलका सदस्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सहमतिका लागि अधिकतम प्रयास भइरहेको भन्दै आजै सहमति हुने बताउनुभएकाे छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रवार झण्डै ४ घण्टा चलेको कार्यदलको बैठकबाट बाहिरिने क्रममा नेता पोखरेलले सहमतिका लागि अधिकतम प्रयास भइरहेको बताउनुभएकाे हाे ।
‘सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौं, सम्भवतः आजै हामी टुंगाउँछौं,’ पोखरेलले भन्नुभयाे । कार्यदलको बैठक दिउँसो पौने १ बजेदेखि बसिरहेको छ । कार्यदलका सदस्यहरूले बिहीवार नै सहमति गर्ने बताएका थिए । बैठकमा संस्थापन पक्षबाट कार्यदलका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षबाट कार्यदलका संयोजक भीम रावल लगायत उपस्थित छन् ।
प्रकाशित मिति : 17:30









