४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

५.२४ अंकले घट्याे नेप्से, ४ अर्ब ४२ करोडको कारोबार

२२ असार, काठमाडाैँ । मंगलबार शेयर कारोबार नेप्से ५.२४ विन्दुले घटेर २८१८.११ विन्दुमा पुगेको छ । बजार खुलेको एक घण्टासम्म बजार थोरै समय झिनो अंकले बढेपनि त्यसपछि निरन्तर ओरालोमै रहेर आजको कारोबार बन्द भएको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार बन्द हुनेबेलासम्ममा बजार ०.१९ प्रतिशतले घटेको हो ।

आज ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज सेन्सेटिभ इन्डेक्स १.९७ अंकले घटेर ५२६.७५ विन्दुमा पुग्यो । यो हप्ताको सुरुवातदेखि नै नेप्सेको कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । मंगलबारको कूल कारोबार रकम ४ अर्ब २२ करोड ४० १८ हजार २ सय ५५ रुपैयाँको कारोबार भएको छ । आज कूल २२० कम्पनीको ४६ हजार ३१० पटकमा १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयरको खरीद बिक्रीबाट उक्त रकमको कारोबार भएको हो ।

आज सोमबारको तुलनामा नेप्से, कारोबार रकम र कारोबार संख्यामा गिरावट आयो तर कोरोबार भएको शेयर संख्या भने केही बढेको छ ।
कारोबार रकमका हिसाबले हिमालयन डिस्टीलरीको कारोबार रकम सबैभन्दा बढी भएको छ । यो कम्पनीको शेयरको ३५ करोड ८९ लाखभन्दा बढीे रकमको कारोबार भएको छ । त्यसपछि कारोबार बढी हुनेहरुमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, नेपाल बैंक लिमिटेडलगायतको रहेको छ ।

शेयर संख्याको हिसाबले सनराइज प्रथम म्युचुअल फण्डका ९ लाख २० हजार ९५० कित्ताको कारोबार भएको छ । त्यसपछि ग्लोबल आईएमई समुन्नत स्किम, नेशनल हाइड्रोपावरलगायतका कम्पनीहरुको शेयर कारोबार संख्या उच्च भयो ।

क्षेत्रगत अवस्था

आज क्षेत्रगत रुपमासबैभन्दा बढी गैर जीवन बीमा समूहले कमाएको छ । यो समूहका शेयर मालिकले १.२ प्रतिशत आम्दानी गरे । त्यसपछि उत्पादन समूहले १.०२ प्रतिशत, बैंकिङ्ग समूहले ०.१९ प्रतिशत, जीवन बीमा समूहले ०.०३ प्रतिशत र लघुवित्त समूहले ०.०३ प्रतिशतले कमाइ गरे । यि बाहेकका समूहको शेयर मूल्यमा गिरावट आएको छ ।

शेयर मूल्यमा सबभन्दा बढी गुमाउनेमा लगानी समूहका समूहका शेयरहोल्डरहरु रहेको छ । यो क्षेत्रमा २.१३ प्रतिशतको गिरावट आएको छ । लगानी समूह पछि गुमाउनेमा जलविद्युत, व्यापारलगायतका समूह रहेका छन् । गुमाउनेहरुमा सबैभन्दा कम विकास बैंक समूहले ०.०४ प्रतिशतले गुमायो । मंगलबार विभिन्न क्षेत्रको सूचकमा आएको घटबढको अवस्था ः

कमाउनेहरु

आज कमाइ गर्नेमा कम्पनीहरुमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरहोल्डरहरु रहेका छन् । यो कम्पनीको शेयर मूल्यमा ८.३१ प्रतिशतले वृद्धि भएको छ । त्यसपछि कमाउनेमा माउण्टेन इनर्जी नेपाल, सिभिल लघुवित्त, कर्पोरेट विकास बैंक, सुमित लघुवित्त लगायतका कम्पनीहरु रहेका छन् ।

गुमाउनेहरु

आज अधिकांश क्षेत्रका शेयरको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा बढी गुमाउने कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेण्ट रहेको छ । यो कम्पनीका शेयर मालिकले ५.५३ प्रतिशतले गुमाए । त्यसपछि गुमाउनेहरुमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना, रिडी जलविद्युत, नेशनल हाइड्रोपावरलगायत छन् ।

मंगलबार सक्रिय कम्पनीका रुपमा नेशनल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यो कम्पनीका शेयरहरु ३ हजार १५७ पटक कारोबार भए । त्यसपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना, नेशनल हाइड्रोपावर, हिमालयन डिस्टिलरी लगायत रहेका छन् । यी कम्पनीहरुको शेयर बजारमा धेरै पटक खरिद–बिक्री भए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १६:१४