एमाले दुर्घटना टर्यो, सहमतिका लागि कार्यदलले काम थाल्यो, केही दिनमै परिणाम निस्कने
२१ असार, काठमाडौँ । नेकपा एमालेको दुर्घटना करिब टरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि नेताहरूले संयमताले एमाले विभाजनको मुखबाट फर्किएको छ । दोस्रो तहका नेताहरूको निरन्तरको दबाब र एमालेको एकता अक्षुण राख्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना कारण दुर्घटना टरेको नेताहरूले बताएका छन ।
माधव नेपालले कुनै पनि मानेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धोका नदिने भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेको समयमा पछिल्लो २४ घण्टादेखि उपाध्यक्ष डा भीमबहादुर रावललाई सक्रिय बनाएर अध्यक्ष ओलीले महत्वपूर्ण सन्देश दिनुभएको छ ।स्वयं ओलीले त्यसअघि सोमबार ५ बजेसम्म अल्टिमेटम दिएर सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिन चेतावनी दिनुभएको थियो ।
आइतबार राति रावलसँग भएको डेढ घण्टा लामो वान टु वान वार्तापछि अध्यक्ष ओलीले कार्यदल व्यूँताएर सहमतिको खाका बनाउने काम कर्यदललाई दिनुभएको छ । कार्यदलले सोमबार नै बैठक गरेर एउटा महत्वपूर्ण सन्देश दिएको छ । नेताहरूको टसमस नहुने अभिव्यक्तिले आज सोमबार ५ बजेपछि एमाले टुक्रिने आँकलन धेरैले गरेका थिए ।तर डा रावलको सक्रियता पछि ओली र नेपालको बीचमा सहमति भएर गठन भएको यसअघिको कार्यदल पुनः व्यूतिएको छ ।
संस्थापनले विपक्षी गठबन्धनको पछि लागेका पूर्व सांसद एमाले नै रहन नसक्ने भन्दै सार्वजनिक घोषणा गरेको थियो भन्दै माधव समूहका नेताहरूले बरू सानो पार्टी बनाउने तर ओलीको चेतावनी सहेर नबस्ने भन्दै सार्वजनिक घोषणा गरेका थिए । यी दुबै अतिवादी अभिव्यक्तिपछि धेरै कार्यकर्ताले सोमबार पाँच बजेपछि दुबै समूहको कित्ता क्लियर हुने र एमाले टुक्रने शंका गरेका थिए ।
तर, अध्यक्ष ओलीले आफूसँग रिसले चुर भएका माधवकुमार नेपाल फकाउनका लागि डा रावलको प्रयोग गर्नुभएको छ । दुबै पक्षका नेता जे पर्ला पर्ला भनेर अभिव्यक्ति दिएपनि विभाजनमा भने भविष्य देखेका थिएनन् । दुबै समूहका नेताहरूले आन्तरिक रूपमा अब आफूहरू सिध्धने भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । अराजक अभिव्यक्तिका कारण चर्चामा आउने नेतृ रामकुमारी झाँक्रीले पटक पटक आफूहरू समाप्त हुने भएपछि ओलीलाई पनि समाप्त पार्ने भन्दै सार्वजनिक अभिव्यक्ति नै दिनुभएको थियो ।
विभाजनको डिलबाट फर्किए पनि एमालेको दुर्घटना पुरै टरेको भने चाहिँ होइन । सुरूमा आन्तरिक रूपमा सिर्जना भएको विवादमा पछि देशीविदेशी दुबै खालका दृश्य र अदृश्य शक्तिले मलजल गरेर हुर्काएपछि उत्कर्षमा पुगेको थियो । उत्कर्षमा पुगेको विवाद एमालेले आफ्नै बलमा नियन्त्रणमा लिन कोशिश गरेको छ । विभिन्न शक्तिले खेलीरहेका कारण कतिखेर के हुन्छ भन्ने अवस्थामा भने रहेको छैन । यद्यपी ९९ प्रतिशत नेता कार्यकर्ताले विभाजनमा भविष्य नदेखेका कारण एमाले अब आफ्नै बाटोमा अघि बढ्ने आंकलन गर्न सकिन्छ ।
सोमबार एकता कायम गर्नकालागि सिंहदरबारमा बसेको कार्यदल बैठकले सौहार्दपूर्ण र सकारात्मक सन्देश प्रवाह गरेको छ । नेताहरूले बैठकबाट निस्केर पार्टीभित्रका आन्तरिक समस्यामाथि गम्भीर विश्लेषण भएको बताएका छन । बैठकमा सहभागी उपाध्यक्ष रावलले निश्चित विषयवस्तुमा प्रवेश नगरेपनि पार्टी विवाद समाधाको दिशामा अघि बढेको बताउनुभएको छ ।
बैठकमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि बैठक हार्दिक र सकारात्मक भएको जानकारी दिनुभएको छ । एमालेका सबै कार्यकर्ता तथा आमजनताले पनि पार्टी एकताको अपेक्षा राखेको भन्दै उहाँले त्यसका लागि आफूहरू गम्भीर भएर लागेको बताउनुभयो ।
माओवादी मिसाउनु अघि नेकपा एमाले एउटा सुन्दर लोकतन्त्रको अब्बल अभ्यास गर्ने वामपन्थी पार्टी थियो । जुन एमालेमा आन्तरिक रूपमा जति विवाद र असहमति भए पनि ती पार्टीभित्र हुन्थे र निर्णय भएपछि सबैले त्यो बोकेर जनतामा जाने गरेको थियो । कतिसम्म भने पार्टीको नेतृत्व चयनको लोकतान्त्रिक र सुन्दर पक्षहरू नेपाली कांग्रेसजस्तो पार्टीले समेत कपी गर्दै आएको थियो ।
एमालेले आफ्ना सबै पादधिकारी सीधै निर्वािचत गर्न थालेपछि कांग्रेसले पनि केही बाहेका पदाधिकारी सिधै निर्वाचित गर्न थालेको थियो । एमालेका सबै काम समयमा हुन्थे तर नेकपा माओवादी केन्द्र मिसाएपछि एमाले न एमाले रहन सक्यो न माओवादीको प्रवृति बोक्न सक्यो ।
दुबैको फ्यूजन समेत राम्रोसँग हुन नसकेपछि पार्टीको नीति र निर्देशन भन्दा ठूलो विपक्षीको हुन थाल्यो । आफ्नै पार्टीका नेता कार्यकर्ता भन्दा अर्का पार्टीका नेता कार्यकर्ता मन पराउने र अर्काका विचार जबरजस्त बोकेर राम्रो छ भनेर हिड्ने अवस्था सिर्जना भयो ।
कतिसम्म भने माधव नेपाल समूहका विद्यार्थी नेता भनिएकाहरू सडकमा गएर केपी ओली चाहिदैन, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्यो भन्दै नाराबाजी गर्ने पुगे । यसले एमालेको छवी धुमलिएको छ भने कार्यकर्ताको मनहरू अमिलिएको छ । यद्यपी सोमबारको परिघटनाले पुन एमालेका नयाँ खालको संचार हुने पक्का छ ।
प्रकाशित मिति : 21:18









