२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबीचको वार्ता सकारात्मक, माधव समूह छलफलमा


२१ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार राति करिब डेढ घण्टासम्म उपाध्यक्ष डा भीमबहादुर रावलसँग भएको छलफल सकारात्मक रहेको पाइएको छ । उहाँहरूको बीचमा पार्टी जीवनको विषयमा लामो कुराकानी भएको र अध्यक्ष ओलीले एमालेलाई एकतावद्ध बनाउन तयार रहेको सन्देश रावल मार्फत माधव नेपाल समूहलाई दिनुभएको छ ।

उहाँहरूको बीचमा भएको छलफलमा उपाध्यक्ष रावलले पुरानै अडानहरू दोहोर्याउनु भएको थियो । रावलले पार्टी विधिमा चल्नुपर्ने विषयमा कुरा राख्नुभएको बुझिएको छ । उहाँले सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा समावेश भएको हस्ताक्षर विषयमा अड्किएर एमालेको एकताको कुरा गर्न नहुने भन्दै फैसला जस्तो आए पनि एमाले एकतावद्ध भएर अघि बढ्नुपर्ने कुरा राख्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले पनि सहमति जनाउनुभएको छ ।

मुख्य कुरा एमालेको एकताको भएको भन्दै एमाले एक ठाउँमा रहने अवस्थामा माधव नेपाल विपक्षी गठबन्धनको कार्यक्रममा सहभागी हुन नजाने रावले बताउनुभएको थियो । उहाँले यो बीचमा दुबै पक्षबाट भएका कतिपय गतिबिधिले इतिहासले समिक्षा गर्ने भन्दै आगामी एमाले विभाजन भन्दा पनि मिलनमा सबैको भविष्य रहेको कुरा बताउनुभएको थियो । रावलले यसअघि ओली र नेपालले सहमतिमा गठन गरेको कार्यदललाइ जिम्मा दिएर प्राविधिक विषय एकदिनमा हल गरेर सहमति पुग्नुपर्ने बताउनुभएको छ।

उहाँहरूको बीचमा सकारात्मक कुरा भएपछि प्रधानमन्त्रीले रावलसँग माधव समूहका नेताहरूसँग छलफल गर्न अनुरोध गर्नुभएको थियो । सोही अनुसार रावलले आज सोमबार समूहका नेताहरूसँग अध्यक्ष ओलीसँग भएको कुराकानीको आधारमा छलफल गरेर केही निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

माधव नेपाल पनि पछिल्लो समय रावलको भन्दा अरूको कुरामा विश्वास गर्न छाड्नु भएको छ । जसको कारण उक्त समूह नै दुइ समूह जस्तो बनिसकेको छ । नेपाल र रवाल एकतातिर हुनुहुन्छ भने घनश्याम भुषाल, गोकर्षण विष्ट,भीम आचार्य र सुरेन्द्र पाण्डे एकातिर हुनुहुन्छ । यसलाइ कतिपयले पूर्व माले र झलनाथ समूह ओलीसँग नजिक भएको र माधव नेपाल समूह थप एक्लो बनेको भनेर समेत व्याख्या गरेका छन ।

रावलले डेढ घण्टासम्म वान टु वान कुरा गर्नुभएको थियो । माधव नेपाल र भीम रावलसँग ओलीको सम्बन्ध बिग्रिएको चर्चा चलिरहेको बेलामा ओली नै बोलाएर रावल बालुवाटार जानु र उहाँहरूको बीचमा सकारात्मक कुरा हुनुले एमाले पुरानै अवस्थामा फर्किएर एउटा सवल पार्टी बनेर हिड्ने अपेक्षा आम कार्यकर्ताले गरेका छन ।

यसअघि असार १८ मा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझ ५ बजेसम्ममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन भन्दै नेपालसहितका २३ पूर्व सांसदले गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । सो डेटलाइनसम्ममा कुनै बाटोबाट सहमति खोज्नका लागि नेताहरू जुटेका छन ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १०:२६

https://srdb.com.np/