सेयर बजारमा भारी गिरावट, १७ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले घट्यो
२ असार, काठमाडाैँ । सेयर बजार परिसूचक नेप्से बुधवार ५२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको सेयर घटेपछि नेप्से ५२ दशमलव ४१ अङ्कले घटेर २९६९.७२ विन्दुमा झरेको छ । नेपाल धितोपत्र बोर्डले अस्वाभाविक रूपमा सेयरको भाउ बढेको भन्दै मङ्गलवार ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि त्यसको असर समग्र बजारमा देखिएको छ । आज बैंकिङ समूहको शेयर झन्डै साढे नौ अङ्कले, व्यापारको १०३ तीन अङ्कले, होटलको २०० अङ्कले, विकास बैंकको १९४ अङ्कले र जलविद्युत् समूहको शेयर १४९ अङ्कले घटेको छ ।
यस्तै फाइनान्स समूहको शेयर १७२ अङ्कले, जीवन बीमा समूहको ४०५ अङ्कले, निर्जीवन बीमा समूहको ४०३, उत्पादन समूहको २०४, अन्यको ७०, म्युचल फन्डकाे १५ र लगानी समूहको ११० अङ्कले घटेको छ । समग्र बजार घटेसँगै आज कारोबार रकममा पनि कमी आएको छ । २१९ कम्पनीका २ करोड ८२ लाख कित्ता सेयर १५ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको झन्डै ६१ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १७ वटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सीईडीबी हाइड्रो कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति : २ असार २०७८, बुधबार १६:०६













