२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

प्रदेश २ को जसपा संसदीय दलको नेतामा राउत चयन

२३ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ। पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेकाे हाे ।

बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको हो। केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चाबीच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता समेत चयन गराउन लगाएका हुन्।

तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको बताइएको छ। ३६ भन्दा बढी प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आजै प्रदेश सभा सचिवालयमा लालबाबु राउत संसदीय दलको नेता चयन भएको जानकारी गराउन लागिएको छ।

यद्यपि जसपाको बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयलाई फुटाएर मन्त्रालयको संख्या समेत बढाउने तयारी चलिरहेको छ । जसपा श्रोतका अनुसार सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग-अलग बनाउने तयारी भएको छ ।

प्रकाशित मिति : 13:27