२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले एकताको अन्तिम प्रयासः अब औपचारिक अनौपचारिक दुबै वार्ता माधव नेपालसँग

२३ जेठ, काठमाडाैँ । सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेख्नुभएको छ ।

पछिल्लोपटक अनौपचारिक संवादमा रहेका दोस्रो पुस्ताका नेताहरूले मात्रै कुराकानी गरेर एकताको सम्भावना नदेखिएकाले नेपालसँगै बसेर गहन छलफल गर्नुपर्ने निष्कर्ष निकालिएको हो । माधव नेपाल पक्ष पनि धेरै अघि बढिसकेकाले एकताका लागि अब हुने प्रयास अन्तिम हुने नेताहरूले बताएका छन ।

ओली पक्षले सकेसम्म नेपालसँगै औपचारिक–अनौपचारिक कुराकानी गरेर पार्टी एकतालाई जोगाउन सकिने भन्दै नेपालसँगको संवादलाई महत्व दिएको हो। ‘हामी निरन्तर संवादमै छौं। पार्टी विभाजन हुनुहुँदैन भन्ने पक्षमा पार्टीका सबै तह छन्। त्यसकारण संवादलाई नै जोड दिइएको हो। आशा गरौं, संवादले निकास निस्कन्छ,’ उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने। नेपाल पक्षको भर्चुअल बैठकले पनि सकेसम्म पार्टी विभाजनलाई रोक्नुपर्ने तर समस्या समाधानको बल भने ओली कोर्टमा रहेको निष्कर्ष निकालेको छ। त्यहीबेला औपचारिक–अनौपचारिक संवादको माध्यमबाट नेपाल पक्षलाई पार्टीबाट बाहिर पठाउन नहुने र सकेसम्म अन्तिम समयसम्म एकताको पहल गर्नुपर्ने निष्कर्षमा ओली पक्ष पनि पुगेको हो। ‘निरन्तरको संवादपछि नै निष्कर्षमा पुग्न सकिन्छ भन्ने हाम्रो धारणा छ। अहिले नै निराश हुनुपर्दैन,’ उपप्रधानमन्त्री पौडेलले भने।

प्रकाशित मिति : June 6, 2021 at 8:20 am