२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

नेपाल बिघटन गर्ने आन्दोलन कुनै पनि देशभक्तका निम्ति स्वीकार्य छैनः उपाध्यक्ष गाैतम

२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गाैतमले नेपाल विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्तका निम्ति स्वीकार्य नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै उहाँले उपप्रधानमन्त्री एवं जसपा नेता राजेन्द्र महतोले नेपाल विघटन गर्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभएको छ ‘नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ ।’ उहाँले अघि भन्नुभएको छ ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु ।’

उपाध्यक्ष गाैतमले संविधानको व्यवस्थाकाे बारेमा उल्लेख गर्दै भन्नुभएको छ ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।’

उहाँले राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

प्रकाशित मिति : 15:31