आगामी दिनमा पनि मेरो सक्रियतामा कुनै कमी रहने छैनः पूर्वमन्त्री अर्याल
२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को नेतृ एवं पूर्वमन्त्री पद्मा अर्यालले अागामी दिनमा पनि आफ्नो सक्रियतामा कुनै कमी नहुने बताउनुभएको छ । शनिबार बिहान सामाजिक सञ्जाल मार्फत सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै उहाँले भन्नुभएको छ ‘आगामी दिनमा पनि मेरो सकृयतामा कुनै कमी रहने छैन र सम्पूर्ण समय जनताकै लागि समर्पित हुनेछु ।’
धन्यवाद तथा आभार
पद अस्थायी हाे तर जिम्मेवारी पाउंदा बफादारी पूर्वक समर्पित हुनु महत्वपूर्ण हुन्छ । आदरणीय मतदाता एबम् सम्पूर्ण महानुभावहरुले म प्रति गर्नुभएको विश्वास र भरोसालाइ पूरा गर्न मैले मन देखि वाचा गरेकी थिएं । देश र जनताकाे नाममा खाएकाे कसम व्यवहारबाटै प्रमाणित गर्ने मेराे अभिलाषा थियाे । पार्टीकाे चुनावी घाेषणापत्रलाइ कार्यन्वयन गर्ने सङ्कल्प गरेकी थिएं ।
यी ३ वर्षमा ३वटा मन्त्रालय सम्हाल्ने मौका पाएं । देश र जनतालाई ईमानदार र निष्ठा पूर्वक सेवा गर्ने मेरा रहर र मूल्य दुबै हुन् । साेही मूल्यमा कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रणका साथ काम गरें ।मलाई माया गर्नुहुने,सद्भभाव राख्नुहुने शुभचिन्तकहरुकै कारण केही युगीन महत्वका एतिहासिक कार्य गर्ने उत्प्रेरणा मिलेकाे हाे ।
राष्टकाे सेवा गर्ने मौका प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री एवं श्रद्धेय पार्टी अध्यक्ष के.पी शर्मा ओलीज्यू सहित आदरणीय नेताहरू ,सिङ्गाे पार्टी पङ्ति र मतदाताप्रति कृतज्ञता ब्यक्त गर्दछु । कामकाे सिलसिलामा सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई दिनु भएको प्रेरणा र हौसलाको म मुक्त कण्ठले प्रशंसा गर्छु ।
मलाई साथ दिनुहुने पार्टी नेता, कार्यकर्ता, बौद्धिक ब्यक्तित्व, विज्ञ, सचिवालयमा रहेर अहाेरात्र खट्नुहुने साथीहरु ,मन्त्रालयका कर्मचारीहरू ,नागरिक सूसुचित गरिदिने सञ्चारकर्मी मित्रहरु ,सम्पूर्ण शुभचिन्तक महानुभावहरु तथा निष्ठापूर्वक काम गर्न वातावरण तयार गरिदिने मेरा परिवारका सदस्यहरू प्रति हृदयको गहिराई देखि नै आभार व्यक्त गर्दछु। आगामी दिनमा पनि मेरो सकृयतामा कुनै कमी रहने छैन र सम्पूर्ण समय जनताकै लागि समर्पित हुनेछु ।
प्रकाशित मिति : 11:01









