कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न छविलाल पौडेलले गरे आत्मसमर्पण, सर्वाेच्चद्वारा पुर्पक्षका लागि थुनामा
२४ असार, काठमाडौँ । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोप लागेका माओवादी कार्यकर्ता जेल चलान भएका छन् ।
माओवादी युद्धकालमा हत्या गरिएका गोरखाका फुजेलका अधिकारीको हत्यामा संलग्न भनिएका माओवादी कार्यकर्ता छबिलाल पौडेललाई सर्वोच्च अदालतले आइतवार कारागार चलान गरेको हो ।
कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । तर, पुनरावेदन अदालतले त्यसलाई सदर गर्यो तर, सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो ।
सर्वोच्चले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।
लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् । यसअघि अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसादको निधन भएको थियो ।
गंगामायाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका थिए । त्यही क्रममा पौडेलले अदालतसामु आत्मसमर्पण गरेका हुन् ।
प्रकाशित मिति : २४ असार २०७५, आईतवार १९:२४