म मन्त्री खान हैन एमालेको एकता बचाउन निरन्तर लागिपरेको छुः गोकर्ण विष्ट
२० जेठ, काठमाडाैँ । नेकपा (एमाले)का सचिव एवं पू्र्वमन्त्री गोकर्ण बिष्टले आफ्नाविरूद्धमा छरिएका भ्रमहरूको खण्डन गर्नुभएको छ । बिहीबार बिहानै समाजिक सञ्जाल मार्फत विष्टले मन्त्री बन्नका लागि भन्दै आफ्नाविरूद्धमा फैलाइएका भ्रमको खण्डन गर्नुभएको हो ।
बुधबार रातिदेखि एमाले विभाजन गराउन लागिपरेका केही सञ्चार माध्यमले विष्टले मन्त्री खान ओली समूहमा प्रवेश गरेको लगायतका समाचारहरू सम्प्रेषण गरेका थिए । उहाँले एकताका लागि भैरहेको इमान्दारपूर्ण प्रयास कमजोर पार्नका लागि झुठा प्रचार भएको बताउनुभएको छ ।
विष्टले भन्नुभएको छ ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् रु समयले नै बताउला ।’
पूर्व मन्त्री समेत रहनुभएका विष्टले भन्नुभएको छ ‘पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’
प्रकाशित मिति : 10:57









