२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइयाेः प्रधानमन्त्री ओली

१७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालोकोटधारीहरूले अदालतको न्यायिक प्रणालीलाई बिगार्न लागेको बताउनुभएको छ । एमालेको प्रभाशाली युवा संगठन राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशहरूले पेन्सन खाएर न्यायिक प्रणाली बिगार्न लागेको बताउनुभयो । आफ्ना पालामा केही नगर्ने तर सरकारले गर्न लागेको काममा अवरोध गर्न लागि परेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराख्ने, कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं ? वकिलहरूले न्यायाधीश तय गर्ने अब ? वकिलहरूले लेखेर ल्याएको, उनीहरूले पढेर सुनाउ भनेको न्यायाधीश चाहियो ? हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने रु हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ’पूर्वहरूका नाममा केही व्यक्तिले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरे पनि उनीहरू सफल नहुने ओलीले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : May 31, 2021 at 5:58 pm