२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

बालुवाटारमा एमाले-जसपाबीच छलफल, सरकारमा सहभागी हुँदै महन्थ-राजेन्द्र पक्ष

१७ जेठ, काठमाडौँ । सरकारमा सहभागी हुने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ । जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी गरिरहेकाे बेला एमाले र जसपाका नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल सुरु भएको हो । छलफलमा एमाले र जसपा दुवै पक्षका शीर्ष नेताहरु सहभागी रहनु भएकाे छ । एमाले र जसपाबीच जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । स्रोतका अनुसार ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ । नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।

कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको बताइएको छ । आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरुको दावी छ । विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् । यादव भट्टराईको पक्षमा केवल १२ सांसद मात्रै रहेका छन ।

प्रकाशित मिति : 11:11