२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

२४ घण्टाभित्र स्पष्टीकरण बुझाउन महन्थसहित चार नेतालाई उपेन्द्र पक्षको लिखित चेतावनी

१५ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो।

दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनको कारवाही गर्ने चेतावनी दिइएको छ । यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार कारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ । गत जेठ ८ गते बसेको उपेन्द्र यादव पक्षको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको निर्णयविपरित ओलीलाई प्रधानमन्त्रीमा आफ्नो दलको समर्थन छ भन्ने पत्र राष्ट्रपति कार्यालयमा बुझाएको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

वरिष्ठ नेता राजेन्द्र महतोलाई भने संसदीय दलको विधान नै नबनी आफू संसदीय दलको नेता चुनिएको भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको विषयमा स्पष्टीकरण माग गरिएको थियो । नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारले बनाएको संविधान संशोधन कार्यदलमा बसेको विषयमा स्पष्टीकरण माग गर्ने यादव समूहको निर्णय थियो । तर उनीहरुले स्पष्टीकरण नपठाएपछि शनिबार केन्द्रीय कार्यालयबाट पत्र पठाएको हो ।

प्रकाशित मिति : 15:33