राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता समेत नेपाली कांग्रसमा रहेनः प्रधानमन्त्री ओली
८ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले शनिबार निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘जसले लोकतन्त्र मान्दैन उनिहरु, लोकतन्त्र आचरण र अभ्यास मान्दैनन् उनीहरु लोकतन्त्रका हिमायती भएर,मयुरका प्वाँख जोडेर मयुरको नक्कल पार्दै, स्वाङ पार्दै, आदर्शहिनहरुले आदर्शको नक्कली कुरा गर्दै देशलाई अराजकता, असभ्यतातिर लान खोजिराख्याछन् ।
भाषाको हिसाबले गालिगलौज, तथानाम, औपचारिक भाषामा । मैले आज प्रमुख प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरें । राष्ट्रपतिलाई तपाईसम्म भन्ने सभ्यता नेपाली कांग्रसमा रहेन । सभापतिको तहबाट । राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा तिमी, उनी, यसो गरिन् ।
यस्तो भाषा बोलिएको छ । अथवा सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एउटा कुलिन घरानियाँ, जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तको आधारमा आएको कुनै नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलेर, निहुँरिएर,हात मुसारेर के के भाषा बोल्थे यिनै मान्छेहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगेभने त्यो सम्मान गर्नु हुँदैन भन्ने ठान्छन् ।
तपाई पनि भन्नु हुँदैन राष्ट्रप्रमुखलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् । अरुलाई तँ, तिमी भन्नु बहादुरी ठान्छन् । नेपाली कांग्रेसको सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई र व्यापकता कहाँसम्म पुगेको छ भन्नेकुरा चाहीँ अचम्म लाग्यो ।’
प्रधानमन्त्री ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत १५ वर्षदेखि मानिसहरुलाई गम्भिर प्रकारका आरोपहरु लगाइरहेको पनि बताउनुभयो । प्रचण्डले असभ्यताको र संस्कारहिनताको पराकाष्ठा देखाएको उहाँको आरोप छ । उहाँले भन्नुभयो – ‘अहिले पोलिटिकल्ली हेर्ने हो भने पुष्पकमल दाहालले मानिसहरुलाई बोलेका वचन, लगाएका आरोप, यि करिब करिब ६३ सालदेखि यि १५ वर्षका आरोप, गालि गलौजका भाषाहरु हेर्ने हो भने यति गम्भिर आरोपहरु लगाएको छ मान्छेहरुलाई असभ्यताको पराकाष्ठा देखिन्छ त्यहाँ ।
संस्कारहिनताको पराकाष्ठा देखिन्छ त्यहाँ । अब अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु मानेको हो, कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ । ’प्रधानमन्त्री ओलीले नेपाली समाजलाई संस्कारयुक्त समाज बनाउनुपर्नेमा जोड दिनुभयो । पुस्तकको विमोचन गर्दै उहाँले आफ्नो जेलजिवनको स्मरण समेत गर्नुभएको थियो ।
प्रकाशित मिति : 18:40









