२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

विपक्षी गठबन्धनको संयुक्त बैठक बानेश्वरमा जारी

८ जेठ, काठमाडाैँ । विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएकाे हाे । प्रतिनिधि सभा विघटनसँगै मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन संयुक्त छलफल सुरु गरेका हुन् ।

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको खनाल–नेपाल समूहको छलफल सुरु भएको हाे । हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गर्नुभएको थियो ।

१४९ जनाको हस्ताक्षरसहित दाबी पेस गर्दासमेत प्रधानमन्त्रीमा नियुक्त नगरि प्रतिनिधि सभा नै विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्ने कदमलाई विपक्षी गठबन्धनले प्रतिगमनको रुपमा लिएको छ ।

गएराति मध्यावधि चुनावको घोषणा भएलगत्तै राजनीतिक दलहरु बिहानैदेखि आन्तरिक, औपचारिक र अनौपचारिक छलफलमा व्यस्त छन् । आन्तरिक छलफलपछि उनीहरु अहिले संयुक्त छलफलमा सामेल भएका हुन् । बैठकमा राष्ट्रिय जनमोर्चा पनि सहभागी भएको छ ।

प्रकाशित मिति : 12:45