१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मूल्यवृद्धि नियन्त्रण गर्न राप्रपा प्रजातान्त्रिकको माग

२२ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले मुलुकको पहाडी भागमा गएको पहिरो तथा तराई क्षेत्रमा गएको बाढीबाट पीडितलाई अविलम्ब राहात उपलब्ध गराउन माग गरेको छ ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले क्षतिग्रस्त स्थानमा तुरुन्त उद्धार तथा सम्भावित जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गरी बजारमा सर्वसुलभ आपूर्ति व्यवस्था मिलाउन बैठकले माग गरेको छ । पार्टीको भावी रणनीति र समसामयिक राजनीतिक अवस्थाको छलफल गर्दै बैठकले लोकतान्त्रिक मूल्यमान्यता र वाक स्वतन्त्रताको संरक्षणका लागि राष्ट्रवादी शक्ति तथा प्रजातन्त्रवादीलाई एकताका लागि आग्रह गरेको छ ।

बैठकले देशव्यापी संगठनलाई सुदृढीकरण गर्न पार्टीले लिएको वैचारिक दृष्टिकोणको आधारस्तम्भमा ‘सम्बद्र्धनवाद’ लाई नयाँ ढंगले जनतालाई बुझाउन विचारगोष्ठी तथा प्रदेशस्तरीय भेलालाई निरन्तरता दिँदै आगामी साउन मसान्तभित्र जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिवको भेला गर्ने निर्णय गरेको छ । पार्टीले हालै प्रदेश ३ को काठमाडौँमा र प्रदेश ५ को बुटवलमा भेला सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : July 6, 2018 at 7:12 pm