माधव नेपाल समूहको कृत्यले पार्टीभित्रको एकताको वातावरण धुमिल बनायोः महासचिव पोखरेल
६ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल समूहको कृत्यले पार्टीभित्रको एकताको वातावरण धुमिल बनाएको बताउनुभएको छ । महासचिव पोखरेलले बिहीबार राति लामो टिप्पणी समाजिक सञ्जालमा पोस्ट गर्दै भन्नुभएको छ ‘राष्ट्रिय सभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य छन् । यस खाले अराजक कृत्यले नेकपा ( एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ ।’
महासचिव पोखरेलले माधव नेपाल समूहको नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘पार्टी विरूद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ ।’
‘ आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।’ पोखरेलले भन्नुभएको छ ।
उहाँले आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने कुरा आज स्पष्ट भएको बताउनुभयो । उहाँले विषम अबस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रकाशित मिति : 22:50









