२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

रामबहादुर थापा बादललाई राष्ट्रियसभामा विजयी गराउनु मेरो दायित्व होः वरिष्ठ नेता नेपाल

४ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई विजयी गराउनु आफ्नो दायित्व भएको बताउनुभएको छ । मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भेट्न पुग्नुभएका गृहमन्त्री समेत रहनुभएका बादलालाई नेता नेपालले विगतमा जे भएको भए पनि पार्टीको निर्णय अनुसार नै अघि बढ्ने बताउनुभएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न संसद बहिष्कार गरेका कारण बादल आफैँले नेपाललाई भेटेर मतको प्रतिवद्धता माग्नु भएको हो । बादलको माग अनुसार नेपालले पार्टीको विवाद समाधान गर्दै राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँहरूको बीचमा करिब १ घण्टा छलफल भएको थियो ।

गृहमन्त्री थापाका संयोजक किरण भट्टराइले पनि नेपालले सहयोगको प्रतिवद्धाता जनाएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा बादलबीच आज नेपाल निवास काेटेश्वरमा भेटवार्ता भएकाे छ । भेटवार्ता पार्टीकाे आन्तरिक विषय र यहि जेठ ६ गते हुनगईरहेकाे राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रीत रहेको थियो । भेटमा नेता नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयाेग रहने बताउनुभएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराइले जानकारी दिनुभयाे ।’

प्रकाशित मिति : 17:08